एनआरएनए अध्यक्ष प्रत्याशी रोविन शेरचनले विश्वव्यापी दौडाहा सुरु गर्ने
काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ महाधिवेशनको तयारीको क्रममा अध्यक्ष पदका बलिया प्रत्याशी तथा वर्तमान उपाध्यक्ष रोविन शेरचन ले विश्वव्यापी दौडाहा सुरु गर्न लागेका छन्।
शेरचनले संघभित्र देखा परेको विवाद समाधान गरी एकताको सन्देश प्रवाह गर्न, विभिन्न मुलुकका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूको निम्तोमा अर्को सातादेखि दुई हप्ते भ्रमण सुरु गर्ने योजना बनाएका छन्।
हालै जारी गरिएको उनको ‘बृहत् एकताका लागि अपिल’ले एनआरएनएभित्र चुनावी माहोल थप तातो बनाएको छ। शेरचनले व्यक्तिभन्दा संस्था ठूलो हो भन्ने मूल मन्त्रलाई आत्मसात् गर्न आह्वान गर्दै व्यक्तिगत र समूहगत स्वार्थभन्दा माथि उठेर प्रवासमा रहेका नेपालीहरूको साझा घरलाई बलियो बनाउन सबै पक्षलाई आग्रह गरेका छन्।
भ्रमण विशेषगरी डेलिगेट्स चयन, निर्वाचन प्रणालीमा देखिएका असमझदारी, र पारदर्शी मतदान प्रक्रिया सुनिश्चित गर्न केन्द्रित रहनेछ। उनले प्रधानमन्त्रीको उपस्थितिमा भएको १० बुँदे सहमतिको मर्म अनुसार अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
कार्यतालिका अनुसार शेरचनको यात्रा अमेरिका रिजनबाट सुरु हुनेछ। अमेरिका र क्यानडाका विभिन्न शहरहरूमा साक्षात्का सम्पन्न गरेपछि उनी ओसियानिया, मध्यपूर्व र युरोपका देशहरूमा भ्रमण गरी अन्ततः एसियाका एनसीसीहरूसँग छलफल गर्दै नेपाल आउने योजना रहेको छ।
एनआरएनएको १२औँ महाधिवेशन फागुन ३० देखि चैत २ सम्म काठमाडौंमा हुने तय भएको छ। शेरचनको मध्यमार्गी र समेट्ने प्रयासले उनलाई विश्वभरका एनसीसीहरूले एकताको अभियन्ता रूपमा स्वागत गर्न तयारी गरिरहेका छन्।