एमाले उम्मेदवारहरू जनताको मत जित्ने एजेण्डासहित निर्वाचन मैदानमा
नेकपा एमालेका उम्मेदवारहरूले जनताको मत जित्ने स्पष्ट एजेण्डासहित आगामी निर्वाचनमा होमिएको दाबी गरेका छन् ।
बुधबार काठमाडौं उपत्यकाका एमाले उम्मेदवारहरूसँग आयोजित संवाद कार्यक्रममा उनीहरूले लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारीसहित जनमुखी एजेण्डा लिएर निर्वाचनमा सहभागी भएको बताएका हुन् ।
कार्यक्रममा एमालेका नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा उम्मेदवार ईश्वर पोखरेलले राष्ट्रिय हित, स्वाभिमान, देशको अखण्डता र स्वतन्त्रतामा केन्द्रित घोषणापत्र छिट्टै सार्वजनिक गरिने जानकारी दिए । उनले विगतमा भएका काम र आगामी दिनमा गरिने योजनालाई समयसूचीसहित समेटिएको घोषणापत्र आउने बताए ।
सामाजिक सद्भाव र राष्ट्रिय एकता नै देशको बलियो आधार भएको उल्लेख गर्दै नेता पोखरेलले पार्टी यसैमा केन्द्रित रहने बताए । उनले वर्तमान व्यवस्थासँग गाँसिएका केही पक्षमा सुधार आवश्यक रहेको उल्लेख गर्दै संविधान संशोधनमार्फत ती विषयहरू परिमार्जन गर्दै अघि बढ्ने धारणा व्यक्त गरे ।
नेता पोखरेलले आगामी निर्वाचनमा एमालेले राम्रो परिणाम ल्याउने विश्वास व्यक्त गर्दै त्यसलाई जनतामाझ प्रमाणित गरेर देखाउने दाबी गरे । एमालेलाई कमजोर पार्न विभिन्न प्रकारका षड्यन्त्र हुँदै आएको आरोप लगाउँदै उनले बाह्य षड्यन्त्रको सामना गर्न पार्टी आन्तरिक रूपमा बलियो हुनुपर्नेमा जोड दिए ।
त्यस्तै एमालेका सचिव तथा भक्तपुर क्षेत्र नं २ का उम्मेदवार महेश बस्नेतले वर्तमान सरकार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पक्षधर बनेर लोकतन्त्रवादी शक्तिमाथि आक्रमण गरिरहेको आरोप लगाए । उनले निर्वाचनलाई निष्पक्ष बनाउनुपर्नेमा जोड दिँदै सरकार मतपरिणाम परिवर्तन गर्ने योजनामा लागेको दाबी गरे ।
निर्वाचन दुई चरणमा गर्ने चर्चा चलाएर मतपरिणाम प्रभावित पार्ने प्रयास भइरहेको उनको भनाइ थियो । साथै उनले संसद् पुनर्स्थापनासम्बन्धी विषयमा अदालतले छिटो न्यायनिरूपण गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै एमालेका सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. राजन भट्टराईले संसद् पुनर्स्थापना लोकतन्त्र र संविधानलाई सहज बाटोमा फर्काउने उपाय भएको बताए । उनले मतदातालाई कुनै उत्तेजनामा नआइ विवेकपूर्ण ढंगले मतदान गर्न आग्रह गर्दै लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी नागरिककै हातमा रहेको बताए ।