चुनावको मुखमा रास्वपामा फेरि धक्का: जिल्ला सभापति ठकुरी कांग्रेसमा प्रवेश
चुनाव आउन केही दिन मात्रै बाँकी रहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाड्ने क्रम रोकिएको छैन। पछिल्लो पटक रास्वपा नवलपरासी (बर्दघाट सुस्तापूर्व) का जिल्ला सभापति महेन्द्रसिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
बिहीबार बर्दघाट नगरपालिका–१२ चौपत्तामा आयोजित चुनावी सभामा उनलाई कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पार्टीमा स्वागत गरेका हुन्। ठकुरी रास्वपाका संस्थापक जिल्ला सभापति समेत हुन्। तर फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भएको टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै उनले पार्टी परित्याग गरेका बताइएको छ।
ठकुरीले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा १२ हजार ४९९ मत प्राप्त गरेका थिए। चुनावको मुखमा उनी पार्टी छाडेर कांग्रेस प्रवेश गरेपछि रास्वपालाई ठूलो राजनीतिक धक्का लागेको विश्लेषण गरिएको छ।
रास्वपाले उक्त क्षेत्रमा कांग्रेस लुम्बिनी प्रदेशका पूर्वमहामन्त्री विक्रम खनाललाई टिकट दिएको छ। हाल खनाल कांग्रेस नेता विनोद चौधरीविरुद्ध चुनावी प्रतिस्पर्धामा छन्।
यसअघि ठकुरीका दाजु तथा सुस्ता गाउँपालिकाका उपसभापति गुप्तसेन ठकुरीले पनि रास्वपा छाडेको घोषणा गरिसकेका छन्। लगातार भइरहेका यी पार्टी परित्यागले नवलपरासी क्षेत्रमा रास्वपाको संगठनात्मक अवस्था कमजोर बन्दै गएको संकेत गरेको छ।