खोटाङमा सामुदायिक भवनमा आगलागी, ३ करोडभन्दा बढी क्षति
६ फागुन, खोटाङ — साकेला गाउँपालिकाको सामुदायिक भवनमा आज आगलागी हुँदा प्रारम्भिक अनुमानअनुसार तीन करोड १६ लाख ३६ हजार रुपैयाँ बराबरको क्षति भएको छ।
गाउँपालिकाको स्टोर (भण्डारण गृह) र आवास गृहका रूपमा प्रयोग हुँदै आएको उक्त भवनमा अचानक आगलागी भएको हो। आगलागीको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मात्तिमबाट खटिएको प्रहरी टोली र स्थानीयवासीले करिब डेढ घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिएका थिए।
गाउँपालिकाका सूचना अधिकारी डीएम चाम्लिङका अनुसार आगलागीबाट भवनभित्र रहेका सामग्री पूर्णरूपमा जलेर नष्ट भएका छन्। आगलागीको कारण भने खुल्न बाँकी रहेको छ।
यस घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिएका छन्। प्रहरीले आगलागीको वास्तविक कारण र क्षतिको यथार्थ विवरण संकलन गर्ने कार्य जारी राखेको जनाएको छ।