सम्भव सिरोहियाको घरमा तोडफोड गरेको अभियोगमा ५ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौँको मण्डिखाटारस्थित सम्भव सिरोहियाको घरमा तोडफोड, आगजनी र लुटपाट गरेको आरोपमा पाँच जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ। सिरोहियाको जाहेरी र प्रहरी प्रतिवेदनअनुसार घटनाबाट करिब १४ करोड ६४ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सुजन डंगोल, विवेक थापा, गोपाल थापा, रोजिस घिमिरे र प्रज्वल रोगुविरुद्ध ‘आपराधिक उपद्रव तथा चोरी’ कसुरमा अभियोग दर्ता गरेको हो। गत भदौ २४ गते ‘जेन्जी आन्दोलन’को बहानामा आन्दोलनकारी समूहले दिउँसो १ बजेदेखि राति १० बजेसम्म घरमा तोडफोड र आगजनी गरेको अभियोग छ।
आगजनीबाट चार वटा विलासी गाडी जलेर नष्ट भएका थिए। साथै ३५ तोला सुन, ३१ केजी चाँदीका सिक्का, गरगहना र बहुमूल्य सामान लुटिएको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा अभियुक्तहरूको कोठाबाट करिब १८ किलो चाँदीका सिक्का र अन्य सामान बरामद गरिएको छ।
सरकारी वकिल कार्यालयले मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत आपराधिक उपद्रव र चोरी कसुरमा मुख्य प्रतिवादीहरूलाई ५ वर्षसम्म कैद र जरिवाना तथा चोरीको सामान खरिद गर्ने रोजिस घिमिरेलाई ३ वर्ष कैद र जरिवाना माग गरेको छ।