एनपीएलमा आज दुई खेल हुँदै, शीर्ष स्थानको होडमा काठमाडौं र सुदूरपश्चिम भिड्दै
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सको सामना गर्नेछ ।
दिउँसो साढे १२ बजे सुरु हुने पहिलो खेलमा काठमाडौं र सुदूरपश्चिम आमनेसामने हुनेछन् । पाँच खेल खेलेको काठमाडौं चार जित र एक हारसहित आठ अङ्क जोडेर अङ्क तालिकाको दोस्रो स्थानमा छ ।
यस्तै, छ खेल खेलेको सुदूरपश्चिमले पनि चार जित र दुई हारबाट आठ अङ्क जोडेको छ । सुदूरपश्चिम तालिकाको तेस्रो स्थानमा रहेको छ । आजको खेल जित्दै दुवै टोली अङ्क तालिकामा आफ्नो स्थान सुधार गर्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।
यसैगरी, आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । पाँच खेल खेलेको चितवनले दुई जित र दुई हार बेहोरेको छ भने वर्षाका कारण एक खेल रद्द हुँदा अङ्क बाँडेको थियो । पाँच अङ्कसहित चितवन तालिकाको पाँचौँ स्थानमा छ ।
छ खेल खेलेको जनकपुरले भने दुई जित र चार हार बेहोर्दै चार अङ्क जोडेको छ । जनकपुर अङ्क तालिकाको छैटौँ स्थानमा रहेको छ । दुवै टोली आजको खेल जित्दै प्रतियोगितामा आफ्नो स्थिति सुधार गर्ने प्रयासमा हुनेछन् ।