दोलखामा मोटरसाइकल वर्कसपबाट चोरी गर्ने युवक पक्राउ
दोलखाको भीमेश्वर नगरपालिकास्थित मोटरसाइकल वर्कसपबाट सामान चोरी गरी फरार भएका एक युवकलाई प्रहरीले चोरीका सामानसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कालिञ्चोक गाउँपालिका–६ लेप्चुङका २५ वर्षीय अनिलकुमार थापा रहेका छन्।
प्रहरीका अनुसार गत कात्तिक २३ गते राति भीमेश्वर नगरपालिका–४ अख्रेनीटोल डाँडागाउँस्थित भरत साहले सञ्चालन गरेको मोटरसाइकल वर्कसपबाट एक थान रेडमी मोबाइल र मोनिटरसमेतको कम्प्युटर सेट चोरी भएको थियो।
लक्ष्मीपूजाका लागि ढोका खुला छाडेर सञ्चालक बजार गएको मौका छोपी थापाले सामान चोरी गरेको प्रहरीको भनाइ छ।
चोरीको उजुरी परेपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा भेटिएका थापालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। सोही क्रममा वर्कसपबाट करिब ३०० मिटर तल झाडीमा लुकाएर राखिएका चोरीका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद सामानसहित थापालाई कात्तिक २५ गते साँझ पक्राउ गरिएको हो।
पक्राउ परेका थापामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।