भीमफेदी इभी दुर्घटना : मृत्यु हुने दुई जनाको पहिचान खुल्यो
मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीनजिक भएको इभी दुर्घटनामा मृत्यु हुने दुई जनाको पहिचान खुलेको छ।
मृत्यु हुनेमा इभी चालक सर्लाहीको कबिलासी नगरपालिका–८ निवासी रविशंकर कुमार मण्डल र चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका सुवेक यादव रहेका छन्। अन्य मृतकको पहिचान खुल्न बाँकी रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन्।
राजधानीको टिकाथलीबाट छठ मनाउन रिजर्भ गरेर गाउँ फर्कँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको इभी बिहीबार बिहान करिब ५ः४५ बजे भीमफेदी–६ मा दुर्घटनामा परेको थियो। काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको गाडी सडकबाट करिब ७०० मिटर तल खसेको थियो।
दुर्घटनामा तीन महिला, पाँच पुरुष र दुई बालिकासहित १० जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
घाइते हुनेमा मुकेश यादव, देवेन्द्र यादव, सञ्जय यादव, सुजन यादव र सक्षम यादव रहेका छन्। एक जना घाइतेको पहिचान खुल्न बाँकी छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।