हिमाली क्षेत्रमा पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन परराष्ट्रमन्त्री खनालको जोड
परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न पूर्वसूचना प्रणालीलाई प्रभावकारी र समुदायकेन्द्रित बनाउनुपर्ने बताएका छन्।
टर्किएको अन्ताल्यामा जारी कोप–३१ सम्मेलनका अवसरमा आयोजित उच्चस्तरीय कार्यक्रममा बोल्दै उनले हिमाली समुदायका लागि पूर्वसूचना प्रणाली जीवन र जोखिमबीचको महत्त्वपूर्ण सुरक्षा कवच भएको बताए।
हालै नेपालमा भएका जलवायुजन्य विपद्को अनुभव सुनाउँदै मन्त्री खनालले पूर्वसूचना प्रणालीमार्फत लाखौँ एसएमएस पठाइए पनि विपद् न्यूनीकरणका लागि त्यो पर्याप्त हुन नसकेको उल्लेख गरे।
उनले हिमाली क्षेत्रमा मौसम तथा जलवायु अवलोकन प्रणालीका कमजोरी हटाउन वास्तविक समयको तथ्याङ्क सङ्कलन, भूउपग्रहमा आधारित प्रविधि र हिमाली क्षेत्रको अनुगमन विस्तार गर्नुपर्ने बताए।
त्यस्तै, जोखिममा रहेका समुदायसम्म स्थानीय भाषामा समयमै चेतावनी पुर्याउने, सीमापार तथ्याङ्क आदानप्रदान तथा क्षेत्रीय सहकार्य बढाउने र जलवायु वित्त सहज रूपमा उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए।