पोखराले विराटनगरलाई दियो १३३ रनको लक्ष्य, सन्दीपको ह्याट्रिकसहित ६ विकेट
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले विराटनगर किङ्सलाई १३३ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा १३२ रनमा समेटियो।
पोखराका लागि युवराज सम्राले सर्वाधिक ८४ रन बनाए। उनले ४७ बलमा सात चौका र पाँच छक्का प्रहार गरे। धनञ्जय लक्षनले २२ र सनि बीकेले १२ रन जोडे।
विराटनगरका सन्दीपले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा २७ रन खर्चेर ६ विकेट लिए। उनले यसक्रममा ह्याट्रिकसमेत पूरा गरे। एन्जेलो म्याथ्युज, चरिथ असलङ्का र रुपेश सिंहले एक–एक विकेट लिए।
प्लेअफ सम्भावना कायम राख्न दुवै टोलीका लागि यो खेल महत्वपूर्ण रहेको छ। विराटनगर पाँच खेलबाट चार अंकसहित छैटौँ र पोखरा दुई अंकसहित आठौँ स्थानमा छ।