मकवानपुर इभी दुर्घटना : मृतक १० मध्ये चार जनाको सनाखत
मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय गाडी (इभी) दुर्घटनामा मृत्यु भएका १० जनामध्ये चार जनाको पहिचान खुलेको छ । दुर्घटनामा अन्य छ जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार पहिचान खुल्नेमा गाडी चालक सर्लाहीको कविलासी नगरपालिका–८ निवासी करिब ३० वर्षीय रविशङ्कर कुमार मण्डल तथा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका चार वर्षीया दीपिका यादव, नौ वर्षीया शिक्षा यादव र विकेश यादव रहेका छन् ।
दुर्घटनामा घाइते भएका छ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको इभी आज बिहान करिब ५ः४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डको चिसापानीगढीबाट करिब ५०० मिटर तल भिरमा खसेको थियो ।
घाइते हुनेमा ३३ वर्षीय मुकेश यादव, १६ महिनाका सुदीप यादव, २६ वर्षीय देवेन्द्र यादव, १२ वर्षीय सक्षम यादव, आठ वर्षीय सुदीप यादव र देवेन्द्र राय रहेका छन् ।
अस्पतालमा उपचाररत मुकेश यादवका अनुसार उनीहरू छठ पर्व मनाउन ललितपुरको टीकाथलीबाट सर्लाही जाँदै थिए । गाडीमा सवार अधिकांश यात्रु एउटै गाउँका छिमेकी तथा आफन्त रहेको उनले बताए ।
दुर्घटनाको कारण खुल्न नसके पनि चालकले पर्याप्त आराम गर्न नपाएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।
यसैबीच, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले भीमफेदी–देउराली सडकखण्डमा एक वर्षभित्र तीनवटा ठूला दुर्घटना भएको भन्दै सडक सुरक्षामा तत्काल सुधार गर्नुपर्ने बताएका छन् । घुम्तीमा ऐना, ट्राफिक सङ्केतलगायत आवश्यक सुरक्षा संरचनाको अभाव रहेको उल्लेख गर्दै उनले सुधारका विषयमा बागमती प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरिएको जानकारी दिए ।