तनहुँमा जिप दुर्घटना हुँदा ६ जना घाइते
तनहुँको शुक्लागण्डकी नगरपालिका–११ गोटपानीमा बलेरो जिप दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिहीबार अपराह्न करिब ४ः१५ बजे दुलेगौंडाबाट स्याङ्जाको चिसापानीतर्फ जाँदै गरेको ग १ ज ७४१० नम्बरको जिप सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो।
जिपमा चालकसहित सात जना सवार थिए। दुर्घटनामा एक जना सकुशल रहेका छन् भने अन्य छ जना घाइते भएका छन्।
घाइते हुनेमा स्याङ्जाको हरिनास गाउँपालिका–१ खैरिकोटका ३२ वर्षीय चालक शिवबहादुर गुरुङ, ९४ वर्षीय रनबहादुर गुरुङ, ४८ वर्षीय चन्द्रबहादुर गुरुङ, ३९ वर्षीया निशा राना, ३४ वर्षीय मिलन गुरुङ र २९ वर्षीय अमरबहादुर गुरुङ रहेका छन्।
घाइते सबैको दुलेगौंडास्थित तनहुँ सेवा अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।