कैलालीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा महिलाको मृत्यु, पाँच जना घाइते
कैलालीको धनगढीमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
धनगढी उपमहानगरपालिका–१५ स्थित ज्योति आयल स्टोर नजिक बिहीबार साँझ करिब ७ बजे दुर्घटना भएको हो।
धनगढीबाट फूलबारीतर्फ जाँदै गरेको से ४ प ४५८५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको सु.प.प्र. ०२००३ प ८१५५ नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा स्कुटर चालक धनगढी उपमहानगरपालिका–५ तारानगरकी ३५ वर्षीया सुशीला बमको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते बमको शुक्रबार बिहान २ बजेर २६ मिनेटमा मायामेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक धनगढी–१४ का २६ वर्षीय प्रवीण चौधरी, उनकी २२ वर्षीया श्रीमती अञ्जली चौधरी र सात वर्षीया छोरी ममता चौधरी घाइते भएका छन्।
त्यस्तै, स्कुटरमा पछाडि सवार धनगढी–५ का २४ वर्षीय सरोज मल्ल र २२ वर्षीया बबिता मल्ल पनि घाइते भएका छन्।
दुर्घटनामा संलग्न दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।