सलमानका पिता सलीम खान भेन्टिलेटरमा
बलिउड सुपरस्टार सलमान खानका पिता तथा प्रख्यात पटकथा लेखक सलीम खानको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई भेन्टिलेटरमा सारिएको छ। आज उनको औपचारिक मेडिकल बुलेटिन जारी गर्ने तयारी भइरहेको छ।
पिताको स्वास्थ्य बिग्रिएपछि अभिनेता सलमान खान सुटिङ छाडेर अस्पताल पुगेका छन् भने सञ्जय दत्त, जावेद अख्तर र अरबाज खान पनि अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
सन् १९६० को दशकमा अभिनयबाट करियर सुरु गरेका सलीम खानले पछि लेखनमा आफ्नो पहिचान बनाएका हुन्। ‘सलीम–जावेद’ को जोडीका रूपमा उनले शोले, जञ्जीर, दीवार र डन जस्ता कालजयी फिल्महरूको कथा लेखेर भारतीय सिनेमाको धार नै परिवर्तन गरिदिए। बलिउडमा लेखकहरूलाई पनि स्टारको जस्तै सम्मान र पहिचान दिलाउन उनको ठुलो योगदान मानिन्छ।