भूकम्प प्रभावित क्षेत्रमा विद्यालय र स्वास्थ्य संस्था निर्माण गर्दै कर्णाली सरकार
सुर्खेत — कर्णाली प्रदेश सरकार ले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा विद्यालय तथा स्वास्थ्य संस्था निर्माण प्रक्रिया अघि बढाएको छ।
विसं २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट क्षतिग्रस्त विद्यालय र स्वास्थ्य संरचना पुनर्निर्माणका लागि काम थालिएको हो। भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय (कर्णाली) ले पाँच वटा स्वास्थ्यचौकी छनोट गरी निर्माणका लागि सम्बन्धित निकायलाई अख्तियारी पठाइसकेको जनाएको छ।
मन्त्रालयका प्रवक्ता रमेश सुवेदी का अनुसार १४ वटा विद्यालय छनोट गरेर पूर्वाधार विकास कार्यालयमार्फत निर्माण प्रक्रिया अघि बढाइएको छ।
रुकुम पश्चिमअन्तर्गत त्रिवेणी गाउँपालिका, चौरजहारी नगरपालिका र आठबीसकोट नगरपालिकामा एक–एक तथा बाँफीकोट गाउँपालिकामा दुई स्वास्थ्य संस्था निर्माण हुनेछन्। त्यस्तै मुसिकोट नगरपालिका र चौरजहारीमा दुई–दुई विद्यालय, सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिकामा तीन–तीन तथा आठबीसकोट नगरपालिकामा पाँच विद्यालय निर्माणका लागि अख्तियारी प्रदान गरिएको छ।
जाजरकोट जिल्लामा २१ विद्यालय र पाँच स्वास्थ्य संस्था निर्माण गरिनेछ भने बारेकोट गाउँपालिकामा चार विद्यालय र दुई स्वास्थ्य संस्था निर्माण हुनेछन्। नलगाड नगरपालिकामा तीन विद्यालय तथा एक स्वास्थ्य संस्था, भेरी नगरपालिकामा दुई विद्यालय निर्माण गरिनेछ।
यसैगरी छेडागाड नगरपालिकामा तीन विद्यालय र एक स्वास्थ्य संस्था, कुशे गाउँपालिकामा दुई विद्यालय र एक स्वास्थ्य संस्था निर्माण गरिने जनाइएको छ। शिवालय गाउँपालिकामा दुई विद्यालय तथा जुनिचाँदे गाउँपालिकामा पाँच विद्यालय निर्माण गर्ने योजना रहेको प्रवक्ता सुवेदीले जानकारी दिए।
प्रदेश सरकारले भूकम्पबाट क्षतिग्रस्त शैक्षिक तथा स्वास्थ्य संरचना शीघ्र पुनर्निर्माण गरी सेवा प्रवाहलाई सहज बनाउने लक्ष्य राखेको जनाएको छ।