प्रतिनिधिसभा निर्वाचन: ३,४०६ उम्मेदवारमध्ये १,६७० ले मात्र खोले बैंक खाता
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये हालसम्म एक हजार ६७० जनाले मात्र बैंक खाता खोलेको निर्वाचन आयोगले जनाएको छ।
त्यस्तै, निर्वाचनमा सहभागी ६५ राजनीतिक दलमध्ये ११ दलले मात्रै बैंक खाता खोलेका छन्। खाता खोल्ने दलहरूमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी (जसपा), संयुक्त नागरिक पार्टी, मितेरी पार्टी, नेपाल जनता संरक्षण पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी रहेका छन्। आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसका अनुसार निर्वाचन खर्चको पारदर्शिता, कानुनले तोकेको खर्च सीमाको पालना तथा प्रभावकारी निगरानीका लागि बैंक खाता खोल्ने व्यवस्था गरिएको हो।
प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२ अनुसार निर्वाचनमा भाग लिने सबै दल, दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरूले अनिवार्य रूपमा बैंक खाता खोली सोही खातामार्फत आर्थिक सहयोग प्राप्त गर्ने र खर्च विवरण सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।