काठमाडौंका विभिन्न क्षेत्रमा आज विद्युत् कटौती
काठमाडौं — नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति अस्थायी रूपमा बन्द हुने जनाएको छ। प्राधिकरणले सूचना जारी गर्दै मर्मत तथा प्रणाली सुदृढीकरण कार्यका कारण निर्धारित समयका लागि विद्युत् कटौती गर्न लागिएको स्पष्ट पारेको हो।
प्राधिकरणका अनुसार बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रभित्र पर्ने सिनामङ्गल चोक र तिलगङ्गा क्षेत्रमा ११ केभी प्रसारण लाइन सटडाउन गरिनेछ। तिलगङ्गा आँखा अस्पताल अगाडि रहेको पोल ढल्किएपछि त्यसलाई व्यवस्थित गर्न लाइन बन्द गर्न लागिएको हो।
तिलगङ्गा, प्रकाश सन्यास आश्रम, सम्भुमार्ग, गौशाखा तथा विमानस्थल आसपासका क्षेत्रमा बिहान ११ बजेदेखि १२:३० बजेसम्म विद्युत् कटौती हुनेछ। त्यसैगरी तिनकुने, गैरीगाउँ, सिनामङ्गल र विमानस्थल क्षेत्रका सबै स्थानमा दिउँसो १ बजेदेखि २:३० बजेसम्म विद्युत् आपूर्ति बन्द गरिनेछ।
महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत पनि विभिन्न क्षेत्रमा आज विद्युत् कटौती हुने भएको छ। काठमाडौं उपत्यकाको मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत भूमिगत वितरण प्रणाली निर्माण कार्य भइरहेकाले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ।
बालुवाटार, शिवपुरी स्कुल, पाण्डोल मार्ग तथा प्रधानमन्त्री निवास आसपासका क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् कटौती हुनेछ। यस्तै, हेपाली हाइट, च्यासिङडोल, देउराली जनता, भगवती मन्दिर र धापासी क्षेत्र पनि प्रभावित हुनेछन्।
त्यसैगरी वंशीधर मार्ग, चण्डोल, विशालनगर, सेन्ट्रल अपार्टमेन्ट र टुँडालदेवी मन्दिर आसपासका क्षेत्रमा दिउँसो १२ बजेदेखि २ बजेसम्म विद्युत् आपूर्ति बन्द रहने प्राधिकरणले जनाएको छ।
विद्युत् कटौतीबाट ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।