प्रतिनिधि सभा निर्वाचन निष्पक्ष रुपमा सम्पन्न गर्न माग
राष्ट्रिय सभा सांसदहरुले यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
आजको बैठकको शून्य समयमा सांसद शारदादेवी भट्टले निर्वाचन देशभर भयरहित, त्रासरहित, धाँधलीरहित सम्पन्न हुनुपर्ने बताइन् । यसका लागि वातावरण बनाउन पनि उनले सदनमार्फत सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद सुमित्रा विसीले देशका विभिन्न भागमा हत्या हिंसा बढ्दै गएको समाचार आइरहेको बताउँदै यस्ता घटनामा संलग्नलाई पक्राउ गरी कारबाही र पीडितको न्यायका लागि पहल गरिनुपर्ने बताइन् ।
सांसद गंगाकुमारी बेल्बासेले दैलेख जिल्लामा पहिचान भएको पेट्रोलियम पदार्थ उत्खनन गरी व्यावसायिक उत्पादन सुरु गरेर आन्तरिक आवश्यकता पूर्ति गरिनुपर्ने बताइन् ।सांसद गोपाल भट्टराईले समाजकल्याण परिषद्का करार सेवाका केही कर्मचारीलाई निष्कासन गरिएको भन्दै विरोध जनाए ।