चोटका कारण उपचारका लागि आर्थिक सहयोग माग्दै सावित्रा भण्डारी साम्बाको अपील
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले गम्भीर चोटको उपचारका लागि आर्थिक सहयोगको अपील गरेकी छन्। घुँडाको जटिल चोटका कारण पछिल्लो सात हप्तादेखि मैदानबाहिर रहेकी उनले शल्यक्रियाका लागि आवश्यक खर्च जुटाउन सहयोग संकलन अभियान सुरु गरेकी हुन्।
सावित्राका अनुसार अघिल्लो पटक गरिएको शल्यक्रियामा राखिएको ग्राफ्ट र एमसिएलमा पुनः चोट लागेकाले जटिल शल्यक्रिया आवश्यक भएको छ। यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा)को सहयोगमा उपचार सहज भए पनि यस पटक अपेक्षित प्रशासनिक र आर्थिक सहयोग नपाएको उनले बताइन्।
उनले उपचारका लागि कतार जाने योजना बनाएको उल्लेख गर्दै करिब ८० हजार अमेरिकी डलर खर्च हुने प्रारम्भिक अनुमान रहेको जानकारी दिइन्।
सावित्राले क्युआर कोड, बैंक तथा विदेशी समर्थकका लागि ‘गिभअलिटिल’ लिंकमार्फत आर्थिक सहयोग गर्न अपील गरेकी छन्। भावनात्मक सन्देशमा उनले फेरि नेपालको जर्सी लगाएर मैदान फर्कने प्रतिबद्धता व्यक्त गरेकी छन्।
उनको अपीलपछि खेलकुद वृत्त र सामाजिक सञ्जालमा सहयोग जुटाउने अभियान सुरु भएको छ भने एन्फाको भूमिकामाथि पनि प्रश्न उठेको छ।