तेस्रो गोरक्षा कप-२०८२: बेसीशहरकै नमुना र उदाहरणीय खेल महोत्सवका रूपमा स्थापित
बेसीशहर, लमजुङ । खेलकुद, संस्कृति र सामुदायिक एकताको सन्देश बोकेको 'तेस्रो गोरक्षा कप-२०८२ बेसीशहर नगरपालिका वडा नम्वर १ को रतनपुरमा भव्य रूपमा सञ्चालन भइरहेको छ। गण्डकी प्रदेश सांसद टिका कुमारी बस्यालको प्रमुख आतिथ्यता तथा गोरक्षा युवा परिवारले अध्यक्ष जिबन गुरुङको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहले कार्यक्रमलाई मङगलवार औपचारिक रूपमा शुभारम्भ गरेको थियो। कार्यक्रममा बेसीशहर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष दुर्गा बहादुर बुढाथोकी लगायत जनप्रतिनिधि, स्थानीय अगुवा, व्यवसायी, खेलप्रेमी तथा सर्वसाधारणको उत्साहजनक उपस्थिति रहेको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद टिका कुमारी बस्यालले गोरक्षा युवा परिवारले बेसीशहर नगरपालिका भित्रकै नमुना र उदाहरणीय खेल आयोजना गर्न सफल भएको बताउनुभयो। उहाँले खेललाई केवल प्रतिस्पर्धामा सीमित नराखी स्वास्थ्य, संस्कृति, पर्यटन र आर्थिक गतिविधिसँग जोडेर फराकिलो सोचका साथ कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै यसलाई अनुकरणीय अभ्यासका रूपमा व्याख्या गर्नुभयो। सीमित स्रोतसाधनका बाबजुद व्यवस्थापन, सहभागिता र विविधताको दृष्टिले यो प्रतियोगिता जिल्लाकै उत्कृष्ट खेल गतिविधि मध्ये एक भएको उहाँको भनाइ थियो।
गोरक्ष कपले स्थानीय स्तरमा खेलकुदको लहर मात्र ल्याएको नभई समाजलाई एकीकृत गर्ने काम गर्दै,परिवारले स्थापना कालदेखि नै मौलिकता र अनुशासनलाई प्राथमिकता दिँदै, खेल उत्सबले नयाँ र पुरानो पुस्ताबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको क्लबका पुर्व अध्यक्ष रामशरण लोहनीले बताउनुभएको छ। लोहनीले आगामी दिनमा यस्ता गतिविधिले बेसीशहरको पहिचानलाई राष्ट्रिय स्तरसम्म पुर्याउन मद्दत गर्ने विश्वास समेत व्यक्त गर्नुभयो।
यस पटकको प्रतियोगितामा युवा पुस्ताका लागि '6 A Side' खुल्ला फुटबल र ३२ वर्षभन्दा माथिका खेलाडीहरूका लागि भेट्रान्स फुटबल विशेष आकर्षणका रूपमा रहेका छन्। महिला र पुरुष दुवैलाई समेटेर डोरी तान्ने, छेलो हान्ने र घैटो फुटाइ जस्ता मौलिक तथा लोपोन्मुख खेलहरू समावेश गरिनुले सबै उमेर समूहलाई खेलमार्फत सक्रिय बनाएको छ। यसले नेपाली मौलिकता र सांस्कृतिक पहिचानलाई जगेर्ना गर्ने प्रयास मात्र गरेको छैन, बरु भेट्रान्स फुटबलमार्फत उमेर ढल्किए पनि खेलप्रतिको उत्साह र स्वास्थ्यप्रतिको सचेतनालाई पुनर्जीवित गरेको छ।
प्रतियोगितामा महिलाहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई अझ समावेशी र सशक्त बनाएको छ। स्थानीयका अनुसार प्रतियोगिताका कारण रतनपुर क्षेत्रमा चहलपहल बढ्ने, जसले आन्तरिक पर्यटन र साना व्यवसायलाई सकारात्मक टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ। खेल मैदानमा देखिएको उत्साह, स्थानियहरुको बाक्लो उपस्थिति र कार्यक्रमको व्यवस्थित सञ्चालनले तेस्रो गोरक्षा कप-२०८२ लाई बेसीशहर नगरपालिका भित्रकै एक प्रेरणादायी र बहुआयामिक खेल महोत्सवका रूपमा स्थापित गरेको छ।



