प्रतिनिधिसभा निर्वाचनका लागि चारबुँदे आचरणसहित आचारसंहिता कार्यान्वयन सूचना जारी
प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, पारदर्शी, मितव्ययी, भयरहित र विश्वसनीय बनाउन जिल्लास्थित निर्वाचन आचारसंहिता अनुगमन समितिले निर्वाचन आचारसंहिता–२०८२ बमोजिम चारबुँदे आचरणसहित सार्वजनिक सूचना जारी गरेको छ।
अनुगमन अधिकृत सहायक प्रमुख जिल्ला अधिकारी मातृका आचार्य र प्रमुख कोष नियन्त्रक विष्णुप्रसाद खनालद्वारा जारी सूचनाअनुसार राजनीतिक दल, उम्मेदवार, दलका भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिहरूले जुलुस, आमसभा, कोणसभा, घरदैलो तथा प्रचारप्रसार गर्दा सभ्य, अनुशासित र मर्यादित व्यवहार अपनाउनुपर्ने उल्लेख छ। कार्यक्रम सञ्चालनका लागि मिति, समय, मार्ग र स्थानबारे कम्तीमा २४ घण्टा अगावै स्थानीय प्रशासनबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ।
निर्वाचन प्रचारमा बालबालिकाको प्रयोग पूर्ण रूपमा निषेध गरिएको छ भने ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक र अपाङ्गता भएका व्यक्तिको मर्यादा र प्रतिष्ठामा आँच आउने गतिविधि गर्न नपाइने उल्लेख छ। घरदैलो कार्यक्रममा २५ जनाभन्दा बढी सहभागी भई बाजागाजा वा झाँकीसहित जान नपाइने तथा धर्म वा साम्प्रदायिक विद्वेष फैलाउने किसिमको प्रचार निषेध गरिएको छ।
सवारीसाधन प्रयोगमा पनि कडाइ गरिएको छ। उम्मेदवारले आयोगको अनुमति लिएर बढीमा दुईवटा हलुका सवारीसाधन प्रयोग गर्न पाउनेछन् भने विदेशी नम्बर प्लेटका सवारीसाधन प्रयोगमा प्रतिबन्ध लगाइएको छ। निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोल्नुपर्ने र २५ हजार रुपैयाँभन्दा बढी सहयोग बैंकमार्फत मात्रै लिनुपर्ने व्यवस्था गरिएको छ।
आचारसंहिता उल्लङ्घन गरेमा निर्वाचन आयोग ऐन, २०७३ अनुसार एक लाख रुपैयाँसम्म जरिवाना वा उम्मेदवारीसमेत रद्द हुन सक्ने चेतावनी दिइएको छ। अनुगमन समितिले सबै सरोकारवालालाई आचारसंहिता पूर्ण पालना गरी निर्वाचन सफल, स्वच्छ र निष्पक्ष बनाउन सहयोग गर्न आग्रह गरेको छ।