भारतले दिएको निर्वाचन प्रयोजनका गाडी सिंहदरबार अगाडि पार्किङ, तस्वीरहरू सार्वजनिक
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई उपलब्ध गराएका गाडीहरू सिंहदरबार अगाडि पार्किङ गरिएको छ।
गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत निर्वाचन प्रयोजनका लागि वस्तुगत सहयोगस्वरूप भारत सरकारसँग गाडी माग गरेको थियो। सोही अनुरूप भारत सरकारले निर्वाचन व्यवस्थापनका लागि आवश्यक सवारी साधन उपलब्ध गराएको हो।
यसपटकको निर्वाचनका लागि भारत सरकारले साना तथा ठूला गरी करिब ६५० वटा गाडी सहयोगस्वरूप प्रदान गर्ने जनाएको छ। यी गाडीहरू निर्वाचनको सामग्री ढुवानी, सुरक्षाकर्मी परिचालन तथा प्रशासनिक व्यवस्थापनमा प्रयोग गरिनेछन्।
निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोग र सम्बन्धित निकायहरूले तयारी तीव्र बनाएका छन् भने भारतबाट प्राप्त गाडीहरूले निर्वाचन व्यवस्थापनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।