रौतहटको गौर–६ मा दुई समुदायबीच झडप, अवस्था तनावपूर्ण
रौतहटको गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदायबीच झडप भएपछि अवस्था तनावपूर्ण बनेको छ। घटनाले उग्र रूप लिँदै गएपछि शान्ति–सुरक्षा कायम गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।
प्रशासनका अनुसार बिहीबार राति हिन्दू समुदायको विवाह जाँदा बाजागाजा बजाइएको विषयलाई लिएर मुस्लिम समुदायसँग विवाद सुरु भएको थियो। मस्जिदमा रात्री प्रार्थना भइरहेको समयमा बाजा बजाएको भन्दै भनाभन बढेपछि कुटपिटसमेत भएको थियो।
उक्त घटनापछि शुक्रबार बिहानदेखि पुनः दुवै पक्षबीच झडप भई ढुंगामुढा सुरु भएको छ, जसले गाउँमा त्रासको वातावरण सिर्जना गरेको छ। स्थिति नियन्त्रणमा लिन प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ।
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश शागर भुषालले घटनाको पुष्टि गर्दै नेपाल प्रहरीका एसपी सिताराम रिजाल र सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारी घटनास्थल पुगेको जानकारी दिए। उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी अढाई सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।
घाइते तथा पक्राउबारे आधिकारिक विवरण आउन बाँकी रहेको र घटनाको विस्तृत अनुसन्धान जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।