दुई वटा चोरीका स्कुटरसहित चार जना पक्राउ
काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट चोरीका स्कुटरसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार कीर्तिपुर र बूढानीलकण्ठ क्षेत्रबाट उनीहरूलाई चोरीका सवारी साधनसहित पक्राउ गरिएको हो।
गत फागुन २ गते कीर्तिपुर नगरपालिका–१० गुरुङ टोलबाट प्रहरी प्रभाग ट्याङलाफाँटको टोलीले २४ वर्षीय सन्तोष विष्ट र २२ वर्षीय धर्मेन्द्र खडायतलाई बागमती प्रदेश ०२-०१८ प ७९३६ नम्बरको एनटर्क स्कुटरसहित समातेको थियो। कञ्चनपुर घर भई हाल शान्तिनगर बस्ने उनीहरूमाथि प्रहरी वृत्त कीर्तिपुरले थप अनुसन्धान गरिरहेको छ।
त्यस्तै, फागुन ४ गते बुढानिलकण्ठ नगरपालिका–२ वासिक क्षेत्रमा चेकजाँचका क्रममा प्रहरी प्रभाग बुढानिलकण्ठले थप दुई जनालाई पक्राउ गरेको छ। भक्तपुरको ठिमी क्षेत्रबाट चोरी भएको बा ६४ प ३७५५ नम्बरको डिओ स्कुटरसहित १८ वर्षीय रबिन परियार र २८ वर्षीय निर्मल परियार पक्राउ परेका हुन्। उदयपुर घर भई हाल कपन बस्ने उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक कारबाही अघि बढाएको छ।