‘राजनीतिक भाषण होइन, मल–बीउ र सुलभ ऋण दिनेलाई मत’ — महोत्तरीका मतदाता
महोत्तरी । निर्वाचन नजिकिँदै गर्दा महोत्तरीका मतदाताले राजनीतिक दलका तर्क र भाषणभन्दा आफ्नो दैनिक जीवनसँग जोडिएका मुद्दालाई प्राथमिकतामा राख्न थालेका छन्। सिँचाइ, समयमा मलखाद र बीउ, तथा सुलभ कृषि ऋण उपलब्ध गराउने उम्मेदवारलाई मात्र मत दिने उनीहरूको स्पष्ट भनाइ छ।
निर्वाचन अभियानका क्रममा दलका नेता तथा उम्मेदवार गाउँबस्तीमा पुग्दा मतदाताले विकास निर्माण, सुशासन, पारदर्शिता र जवाफदेहिता, सिँचाइ तथा प्राकृतिक स्रोत संरक्षणजस्ता मुद्दा उठाइरहेका छन्।
क्षेत्र नम्बर १ का मतदाताले वन, पहाड र नदी क्षेत्रमा भइरहेको अनियन्त्रित उत्खनन र अतिक्रमण नियन्त्रणलाई मुख्य प्राथमिकता बताएका छन्। बर्दिबास–१४ का रामु अधिकारीका अनुसार यी विषयमा स्पष्ट योजना प्रस्तुत गर्ने उम्मेदवार नै रोजाइमा पर्छन्।
क्षेत्र नम्बर २ मा बर्खाको कटान र डुबान तथा हिउँदमा सिँचाइ र खानेपानी अभाव प्रमुख समस्या बनेको छ। महोत्तरी गाउँपालिका–६ का दिनेश महतो भन्छन्, “बर्खामा डुबानले पीडित हुन्छौँ भने हिउँदमा पानीकै हाहाकार हुन्छ।”
क्षेत्र नम्बर ३ मा पनि नदी कटान, डुबान र सिँचाइ अभाव मुख्य समस्या हुन्। जलेश्वरका युवा मतदाता सुशासनलाई यसपालिको चुनावको मूल मुद्दा बनाइनुपर्ने बताउँछन्।
क्षेत्र नम्बर ४ का बासिन्दा हर्दी र मडहा नदीको कटान तथा डुबानबाट वर्षौंदेखि पीडित छन्। साथै, भरपर्दो अस्पताल नहुँदा उपचारका लागि भारत जानुपर्ने बाध्यता रहेको सामाजिक अभियन्ताहरूले बताएका छन्।
मतदाता भन्छन्, “राजनीतिक तर्क सुन्नु छैन, समयमा मल, बीउ र सुलभ ऋण चाहिन्छ।” भङ्गाहा–२ का किसान जीवछ सिंह थारूका अनुसार किसानका समस्या समाधान गर्न सक्ने उम्मेदवार नै मतको हकदार हुनेछन्।
जिल्लाका चारवटै क्षेत्रका अधिकांश मतदाता कृषि पेसामा आबद्ध रहेकाले यसपटक चुनावमा लोलोपोतोमा होइन, आफ्ना वास्तविक मुद्दामा आधारित भोट हाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।