समृद्ध सल्यानको खाकासहित नेकपाको प्रतिबद्धता पत्र सार्वजनिक: रमेश मल्ल र शारदा परियारलाई जिताउन अपील
सल्यान । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी, सल्यानले आफ्नो विस्तृत चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। “समृद्ध सल्यान, हाम्रो अभियान” भन्ने मुख्य नाराका साथ सार्वजनिक गरिएको उक्त संकल्प पत्रमा जिल्लाको काँचुली फेर्ने गरी नीतिगत सुधारदेखि ठूला पूर्वाधार र स्वरोजगारका योजनाहरू समेटिएका छन्। पार्टीले प्रत्यक्षतर्फका उम्मेदवार रमेश कुमार मल्ल र समानुपातिकतर्फकी उम्मेदवार शारदा परियारलाई चुनाव चिन्ह तारामा मतदान गरी विजयी गराउन जिल्लावासीलाई आह्वान समेत गरेको छ।
नीतिगत सुधार र सुशासनको संकल्प
नेकपा सल्यानले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, समावेशी प्रतिनिधित्व र धर्मनिरपेक्षता जस्ता संवैधानिक मूल्यलाई मुख्य आधार बनाएको छ। प्रतिबद्धता पत्रमा भनिएको छ, "राजनीतिक स्थायित्व र सुशासनका लागि आवश्यक संविधान संशोधनमा पहल गरिनेछ।" साथै, जनआन्दोलनका सहिद, बेपत्ता र घाइते योद्धाहरूको सम्मान र राहतका लागि विशेष कार्यक्रम ल्याउने घोषणा गरिएको छ। भ्रष्टाचार नियन्त्रण, बेरोजगारी अन्त्य र वन नियन्त्रण सम्बन्धी कानुनलाई विकासमैत्री बनाउने विषयलाई पनि पार्टीले उच्च प्राथमिकतामा राखेको छ।
सडक र डिजिटल पूर्वाधारमा जोड
भौतिक पूर्वाधारतर्फ राप्ती लोकमार्ग, मदन भण्डारी लोकमार्ग र लुम्बिनी-रारा लोकमार्गको स्तरोन्नतिलाई मुख्य एजेन्डा बनाइएको छ। जिल्ला पर्यटकीय चक्रपथ निर्माण गर्ने, खलङ्गा-मार्के-कालिमाटी हुँदै सुर्खेत र कोहलपुर जोड्ने रणनीतिक सडकहरूलाई पूर्णता दिने योजना अघि सारिएको छ। हरेक पालिका र वडासम्म पक्की सडक, गुणस्तरीय इन्टरनेट र डिजिटल साक्षरतामार्फत सार्वजनिक सेवालाई प्रविधिमैत्री बनाउने नेकपाको दाबी छ।
पर्यटन: सल्यान सांस्कृतिक प्रतिष्ठान' देखि गुरुयोजनासम्म
सल्यानलाई पर्यटकीय हब बनाउन एकीकृत "पर्यटन गुरुयोजना" निर्माण गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ। प्रसिद्ध कुपिन्डे ताल, खैराबाङ भुवनेश्वरी, छत्रेश्वरी मन्दिर र फालाबाङ पुतली दरबारको संरक्षणसँगै कुमाख, निगालचुला, जथाक लेक, सुकिदह र सिद्धगुफा जस्ता क्षेत्रमा पूर्वाधार विकास गरिनेछ। "सल्यान सांस्कृतिक प्रतिष्ठान" मार्फत स्थानीय कला र संस्कृतिको जगेर्ना गर्दै वार्षिक पर्यटन महोत्सव र होमस्टे प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।
शिक्षा, स्वास्थ्य र खेलकुदमा 'नयाँ युग'
शिक्षा क्षेत्रमा "पढ्दै कमाउँदै" कार्यक्रम र प्राविधिक शिक्षाको विस्तार गर्ने तथा संघीय शिक्षा ऐन पारित गर्न दबाब दिने नीति लिइएको छ। स्वास्थ्यतर्फ सल्यान जिल्ला अस्पताललाई १०० शैय्याको विशेषज्ञ अस्पतालमा स्तरोन्नति गर्ने र प्रत्येक पालिकामा १५ शैय्याको अस्पताल सुनिश्चित गर्ने योजना छ। टेलिमेडिसिन र सुरक्षित मातृत्व कार्यक्रमलाई प्रभावकारी बनाइनेछ। खेलकुदतर्फ जिल्ला स्तरीय रंगशाला र प्रत्येक वडामा खेलमैदान निर्माणलाई प्राथमिकतामा राखिएको छ।
कृषि क्रान्ति र युवा स्वरोजगार
सल्यानको अदुवा, सुन्तला र टिमुर जस्ता रैथाने उत्पादनको निर्यात ३० प्रतिशतले वृद्धि गर्ने लक्ष्यसहित पार्टीले कृषिमा आधुनिक प्रविधि र सहुलियत ऋणको प्याकेज ल्याएको छ। "एक पालिकाएक उत्पादन" कार्यक्रममार्फत स्थानीय ब्रान्डिङ गर्ने, आधुनिक शीतभण्डार निर्माण गर्ने र बाँस-निगालो तथा खुकुरी उद्योग जस्ता घरेलु उद्योगलाई प्रोत्साहन दिने प्रतिबद्धता पत्रमा उल्लेख छ। लघुवित्त पीडितको समस्या समाधान र दोहोरो कर प्रणालीको अन्त्यलाई पनि आर्थिक सुधारको मुख्य पाटो बनाइएको छ।
उज्यालो सल्यान र सिँचाइ सुविधा
आगामी दुई वर्षभित्र जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने र असुरक्षित नाङ्गा तार विस्थापन गरी एविसी केबल जडान गर्ने योजना नेकपाले अघि सारेको छ। १३२ केभी प्रसारण लाइनको सवस्टेशन निर्माण, शारदा-बबई र भेरी करिडोरमा बृहत सिँचाइ आयोजना संचालन तथा लिफ्ट प्रणालीमार्फत घर-घरमा खानेपानी पुर्याउने संकल्प पत्रमा उल्लेख छ।
नेकपा सल्यानले यो निर्वाचन जिल्लाको समग्र विकास र समृद्धिका लागि निर्णायक मोड हुने बताउँदै योग्य र क्षमतावान युवा नेतृत्वलाई मतदान गर्न सबै मतदातामा हार्दिक अपिल गरेको छ।

