प्रधानसेनापति सिग्देलद्वारा सुदूरपश्चिममा निर्वाचन सुरक्षा निरीक्षण
प्रधानसेनापति अशोकराज सिग्देलले आज कैलालीको तेघरीस्थित सुदूरपश्चिम पृतनामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापनबारे प्रदेश सुरक्षा संयन्त्रसँग छलफल गरेका छन्।
निर्माण गरिएको सुरक्षा व्यवस्था निरीक्षणका क्रममा उनले निर्वाचन सुरक्षालाई त्रुटीरहित रूपमा सुनिश्चित गर्न मातहतका युनिटलाई निर्देशन दिएका छन्। सो छलफलमा कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसमेत सहभागी भएका थिए।
सुदूरपश्चिममा निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै नेपाली सेनाले यहाँका कारागार, विमानस्थल तथा धनगढीस्थित आयल निगमको डिपोको सुरक्षा जिम्मेवारी लिएको छ। साथै नौ वटै जिल्लामा गस्ती बढाइएको र निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ।
प्रधानसेनापति सिग्देलले आजै सुर्खेतस्थित उत्तर पश्चिम पृतनाको निरीक्षण गर्ने कार्यक्रम रहेको पनि नेपाली सेनाले जनाएको छ।