प्रधानमन्त्री सुशीला कार्कीद्वारा मुक्तिनाथ मन्दिर दर्शन, निर्वाचन शान्तिपूर्ण बनाउन निर्देशन
प्रधानमन्त्री सुशीला कार्कीले वारागुङ मुक्तिक्षेत्र–१ स्थित पवित्र मुक्तिनाथ मन्दिरको दर्शन गरेकी छन्। नेपाली सेनाको हेलिकोप्टरमार्फत मुक्तिनाथ पुगेकी प्रधानमन्त्री कार्कीले १०८ धारामा जलसेचन गरी मन्दिरमा पूजा–अर्चना गरेकी हुन्।
मन्दिर दर्शनका क्रममा उनलाई वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामगेल गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारी, मुक्तिनाथ विकास समितिका पदाधिकारी र स्थानीय प्रतिनिधिले स्वागत गरेका थिए। दर्शनका क्रममा प्रधानमन्त्री कार्कीले स्वदेशी तथा विदेशी पर्यटकसँग भलाकुसारीसमेत गरेकी थिइन्।
यस अवसरमा स्थानीय जनप्रतिनिधि र विकास समितिका पदाधिकारीले मुक्तिनाथ क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण योजनाका फाइल पुरातत्त्व विभागमा पेस भए पनि स्वीकृति ढिलाइ भएकाले काम अघि बढ्न नसकेको गुनासो गरेका थिए। जवाफमा प्रधानमन्त्री कार्कीले सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
मुक्तिनाथमा करिब एक घण्टा बिताएपछि प्रधानमन्त्री कार्की जोमसोमस्थित नेपाल सेनाको इन्द्रबक्स गण पुगिन्। त्यहाँ आयोजित निर्वाचनलक्षित छलफलमा उनले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न निर्देशन दिइन्।
प्रधानमन्त्रीले सुरक्षा निकायलाई शान्तिपूर्ण निर्वाचनका लागि आवश्यक तयारी प्रभावकारी रूपमा अघि बढाउन आग्रह गरेकी छन्। सो अवसरमा प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जिल्लाको सुरक्षा अवस्था र निर्वाचन तयारीबारे जानकारी गराएकी थिइन् भने जिल्ला मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले हालसम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए।