भोजपुरमा सेना सवार बस दुर्घटना, २४ घाइते, ८ गम्भीर
भोजपुर, फागुन २१ — प्रतिनिधि सभा निर्वाचनको सुरक्षा गस्तीका लागि हिँडेको नेपाली सेना सवार बस भोजपुरमा दुर्घटनामा परेको छ। सदरमुकामस्थित नयाँ श्रीनाथ गणबाट गस्तीका लागि हिँडेको २६ जना सेना सवार बस भोजपुर नगरपालिका–३ को सेतीबगरनजिक सडकबाट करिब पाँच मिटर तल खसेको हो।
ना ४ ख ७३१७ नम्बरको उक्त बस मोडबाट अनियन्त्रित भई करिब ५०० मिटर तल खस्दा २४ जना घाइते भएका छन्। बसमा सवार एक जमदार र एक सहयोगी भने सकुशल रहेका छन्।
घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सामान्य घाइतेहरूको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ भने गम्भीर घाइते आठ जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायब उपरीक्षक राजु लामाका अनुसार बस घुम्तीबाट तल खसेको थियो। टेम्केमैयुङ गाउँपालिकामा निर्वाचन सुरक्षा तयारीका लागि नयाँ श्रीनाथ गणबाट खटिएको सेना सवार बस दुर्घटनामा परेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।