मिथिलाको महाकुम्भ मध्यमा परिक्रमा आजदेखि शुरु
धनुषा — मिथिलाको महाकुम्भका रूपमा चिनिने धार्मिक तथा ऐतिहासिक १५ दिने मिथिला मध्यमा परिक्रमा आजदेखि विधिवत रूपमा शुरु भएको छ। धनुषाको मिथिला बिहारी नगरपालिका–८ कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट झाँकी, कीर्तनसहित मुख्य डोला निकालिएपछि परिक्रमा औपचारिक रूपमा प्रारम्भ गरिएको हो।
मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादव तथा विभिन्न साधुसन्तहरूले संयुक्त रूपमा डोला निकाल्दै यात्राको शुभारम्भ गरेका हुन्। १५ दिनसम्म चल्ने यस धार्मिक यात्रामा हजारौं साधुसन्त तथा श्रद्धालुहरूको सहभागिता रहेको छ।
परिक्रमाले कुल १३३ किलोमिटर दूरी तय गर्दै नेपाल र भारतका विभिन्न पवित्र स्थलहरू पार गर्नेछ। यात्राका क्रममा १५ स्थानमा रात्रि विश्राम गरिनेछ, जसमा अधिकांश स्थान नेपालमा र केही भारतको बिहार राज्यमा पर्दछन्। कचुरीबाट निस्केको डोलासहितका श्रद्धालुहरू आज साँझ जनकपुरधामको हनुमानगढीमा पुगेर पहिलो रात्रि विश्राम गर्ने कार्यक्रम रहेको छ।
जनकपुरधामस्थित सुन्दर सदन मन्दिरबाट किशोरीजी, रामजानकी तथा अन्य मन्दिरका डोलाहरू पनि यस यात्रामा समाहित हुनेछन्। हनुमानगढीबाट मंगलबारदेखि परिक्रमा पूर्ण रूपमा विधिवत अगाडि बढ्नेछ।
अठारौँ शताब्दीदेखि चल्दै आएको यो परम्परा मिथिला महात्म्य ग्रन्थमा आधारित रहेको बताइन्छ। परिक्रमा १५ औँ दिन जनकपुरधाममा अन्तर्गृह परिक्रमा (पञ्चकोशी) सम्पन्न भएपछि समापन हुनेछ। त्यसको भोलिपल्ट मिथिलाञ्चलमा होली पर्व मनाउने परम्परा रहेको छ।
जनविश्वासअनुसार मन, वचन र कर्मले परिक्रमा गर्दा पाप नष्ट हुने, मनोकामना पूरा हुने र अन्ततः मोक्ष प्राप्त हुने विश्वास गरिन्छ। यस धार्मिक यात्राले नेपाल–भारतबीचको सांस्कृतिक एकतालाई अझ मजबुत बनाउँदै आएको छ।