गृह मन्त्रालयद्वारा निर्वाचन लक्षित दूरसञ्चार सेवा सुदृढ गर्न सरोकारवालासँग छलफल
काठमाडौं, फागुन १६ — आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै गृह मन्त्रालयले दूरसञ्चार सेवालाई थप चुस्त, सुरक्षित र प्रभावकारी बनाउने विषयमा सम्बन्धित निकायसँग छलफल गरेको छ।
नेपाल सरकारका प्रवक्ता तथा गृहमन्त्री ओम प्रकाश अर्यालको उपस्थितिमा आयोजित बैठकमा गृह मन्त्रालयका सचिव र उच्च अधिकारीहरू, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा सहसचिव, नेपाल दूरसञ्चार प्राधिकरणका प्रतिनिधि तथा विभिन्न सेवा प्रदायक कम्पनीका अधिकारी सहभागी थिए।
बैठकमा निर्वाचन अवधिमा विशेषगरी मतदान केन्द्रहरूमा भरपर्दो सञ्चार पहुँच सुनिश्चित गर्ने, विद्यमान सेवालाई थप प्रभावकारी बनाउने, मर्मत–सम्भार र अनुगमनलाई चुस्त राख्ने लगायत विषयमा समझदारी भएको जनाइएको छ। टेलिफोन, इन्टरनेटलगायतका सेवा अवरुद्ध नहुने गरी आवश्यक पूर्वतयारी गर्ने निर्णयसमेत गरिएको छ।
गृहमन्त्री अर्यालले निर्वाचन प्रक्रियामा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले दूरसञ्चार सेवा सहज, सुरक्षित र भरपर्दो बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। उनले सञ्चार मन्त्रालय मातहतका सरकारी सञ्चार माध्यम तथा दूरसञ्चार सेवासमेत प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा जोड दिएका छन्।
मन्त्रालयले निर्वाचन अवधिभर सञ्चार सेवा निरन्तर सञ्चालनमा रहने गरी समन्वय र अनुगमनलाई उच्च प्राथमिकता दिइने जनाएको छ।