कांग्रेसले हरेक कालखण्डमा देशलाई एकताबद्ध बनाउँदै आएको छ : उपसभापति शर्मा
ललितपुर । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले हरेक कालखण्डमा नेपाली कांग्रेसले देशलाई एकताबद्ध बनाउने भूमिका निर्वाह गर्दै आएको बताएका छन् ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरद्वारा शुक्रबार आयोजित निर्वाचन विशेष जिल्ला भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले देशमा उत्पन्न विषम परिस्थितिका कारण निर्धारित समयभन्दा दुई वर्ष अगावै निर्वाचन हुन गइरहेको उल्लेख गर्दै देशको हितका लागि समन्वय र सहकार्य गर्ने क्षमता नेपाली कांग्रेससँग रहेको बताए ।
समावेशी राजनीतिबाट समाजलाई जोड्ने काम स्व. बिपी कोइरालाले सुरु गरेको र गिरिजाप्रसाद कोइरालाले द्वन्द्वको अन्त्य गर्दै माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको स्मरण गर्दै उनले कांग्रेस जिम्मेवार राजनीतिक दल भएको बताए । “विगतका कमजोरी सुधार गर्दै गालीको राजनीति बन्द गरी बदलिएको परिवेशअनुसार समृद्धि र समुन्नतिको लक्ष्यतर्फ कांग्रेस अगाडि बढ्नेछ,” शर्माले भने ।
उनले जेन–जी आन्दोलनका अपेक्षालाई सम्बोधन गर्दै मानिस–मानिसबीचको विश्वास कायम गर्ने र समग्र देशको अवस्थालाई मूल्याङ्कन गरी नेपाली समाजलाई एकतामा बाँध्न सक्ने नेतृत्व नेपाली कांग्रेससँग रहेको दाबी गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका अग्रज नेता तथा केन्द्रीय सदस्य ओमकारप्रसाद श्रेष्ठले आफूले करिब ७० वर्षदेखि नेपाली कांग्रेसमा योगदान गर्दै आएको उल्लेख गर्दै पार्टीले समयको मागअनुसार जनआवाजलाई सम्बोधन गर्दै आएको बताए । उनले आठ लाखभन्दा बढी क्रियाशील सदस्यहरूको सक्रियताबाट आगामी निर्वाचनमा बहुमत हासिल गर्ने गरी पार्टीको नीति र कार्यक्रमअनुसार अघि बढ्न कार्यकर्तालाई आह्वान गरे ।