गुल्मीमा दुई मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीले गर्ने
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मी जिल्लाका दुई मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीले गर्ने भएका छन्। महिलाले नेतृत्व गर्ने मतदान केन्द्रमा रेसुङ्गा नगरपालिका–८ स्थित सिद्धबाबा माध्यमिक विद्यालयको (क) केन्द्र र रेसुङ्गा नगरपालिका–५ स्थित जनसहयोग माध्यमिक विद्यालयको (ख) केन्द्र रहेका छन्।
मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक मतदान अधिकृत कृष्णप्रसाद भट्टराईका अनुसार ती केन्द्रहरूमा सुरक्षाकर्मीसहित सम्पूर्ण महिला कर्मचारी परिचालन गरिएको छ। सदरमुकाम तम्घासस्थित सिद्धबाबा मावि (क) केन्द्रको मतदान अधिकृत सृजना मिश्र र भुवनपानीस्थित जनसहयोग मावि (ख) केन्द्रको मतदान अधिकृत पुष्पा रायमाझी अर्याल रहेका छन्।
जिल्ला निर्वाचन कार्यालयले गुल्मीका दुवै निर्वाचन क्षेत्रका मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूलाई निर्वाचनसम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरेको छ। जिल्ला निर्वाचन अधिकारी ऋषिराम घिमिरेका अनुसार निष्पक्ष निर्वाचन सम्पन्न गराउन आवश्यक जिम्मेवारी प्रदान गरिएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा कुल १ हजार ७१६ कर्मचारी परिचालन गरिनेछ। २८५ मतदान केन्द्रका लागि २८५ मतदान अधिकृत, २८५ सहायक मतदान अधिकृत, ८५५ सहायक कर्मचारी र २८५ सहयोगी कर्मचारी खटाइने निर्वाचन अधिकृत हरिहर पौडेलले जानकारी दिए।
यसैबीच, जिल्ला कारागार कार्यालयमा कर्मचारी तथा कैदीबन्दीका लागि एक अस्थायी मतदान केन्द्र राख्न निर्वाचन आयोगलाई सिफारिस गरिएको छ। दुई निर्वाचन क्षेत्र रहेको गुल्मीमा एक लाख १५ हजार २१० महिला, एक लाख १४ हजार ३३७ पुरुष र अन्य दुई गरी कुल दुई लाख २९ हजार ५४९ मतदाता रहेका छन्।