निर्वाचन आयोगको आह्वान: प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आग्रह
काठमाडौं, फागुन ११ — निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को प्रचारप्रसारका क्रममा बालबालिकाको प्रयोग नगर्न सबै राजनीतिक दल र उम्मेदवारलाई आह्वान गरेको छ।
आयोगले आज जारी गरेको विज्ञप्तिमा दल वा उम्मेदवारले आफ्नो झण्डा वा निर्वाचन चिह्न बोकाउने, सांस्कृतिक कार्यक्रम तथा र्यालीमा सहभागी गराउने, कुनै दल वा उम्मेदवारविरुद्धका गतिविधिमा प्रयोग गर्ने, झण्डा वा निर्वाचन चिह्न अंकित भेष्ट, टिसर्ट वा लोगो प्रदर्शन गराउने जस्ता कार्यमा बालबालिकालाई संलग्न नगराउन आग्रह गरेको हो।
आयोगका अनुसार विद्यालय समयमा विद्यालय नजिकै चुनावी कार्यक्रम आयोजना गरी शैक्षिक गतिविधिमा अवरोध पुर्याइएको विषयमा उजुरी तथा गुनासो प्राप्त भएका छन्। यसै सन्दर्भमा बालबालिकालाई चुनावी अभियानमा सहभागी नगराउन पुनः स्मरण गराइएको हो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (ट) अनुसार ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’ स्पष्ट व्यवस्था रहेको उल्लेख छ।
आचारसंहिताको उल्लङ्घन भएमा आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न वा उम्मेदवारी रद्दसम्मको कारबाही गर्न सक्ने कानुनी व्यवस्था रहेको पनि स्मरण गराइएको छ।
विज्ञप्तिमा भनिएको छ, “निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्नु नेपालको संविधान, बालबालिकासम्बन्धी ऐन तथा निर्वाचन आचारसंहिताको प्रतिकूल हुने भएकाले कुनै पनि राजनीतिक गतिविधि तथा चुनावी अभियानमा बालबालिकालाई कुनै पनि प्रकारले प्रयोग नगर्न तथा उनीहरूको अध्ययन–अध्यापनमा असर पार्ने कार्य नगर्न सबै राजनीतिक दल, उम्मेदवार र मतदातालाई आग्रह गरिन्छ।”
साथै, कानुनद्वारा प्रत्याभूत बालअधिकारको संरक्षण र प्रवर्द्धन सुनिश्चित गर्न आयोगले नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहहरूको ध्यानाकर्षणसमेत गराएको छ।