महाशिवरात्रिमा पशुपतिनाथ क्षेत्रमा वृहत् सरसफाइ अभियान
काठमाडौं — महाशिवरात्रिको अवसरमा पशुपतिनाथ क्षेत्रभित्र थुप्रिएको फोहोरमैला व्यवस्थापन गर्न क्रिएसन नेपालले परिचालन गरेका सफाइकर्मी तथा स्वयंसेवकहरू बिहानैदेखि सरसफाइमा जुटेका छन्।
क्रिएसन नेपालले ‘सफा गरौँ अभियान’ अन्तर्गत दि कोका–कोला फाउण्डेसनको सहयोगमा सञ्चालन गरिरहेको ‘क्लाइमेट स्मार्ट सिटिज’ परियोजनामार्फत पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा वृहत् सरसफाइ अभियान सञ्चालन गरेको हो। अभियानअन्तर्गत करिब पाँच सयभन्दा बढी सफाइकर्मी तथा स्वयंसेवक परिचालन गरी तीन दिनसम्म निरन्तर सरसफाइ गतिविधि सञ्चालन गरिने कार्यक्रम निर्देशक सुजाता कोइरालाले जानकारी दिइन्।
हिजो महाशिवरात्रिको दिन पनि पशुपतिनाथ क्षेत्रमा बढी फोहोर संकलन हुने स्थानहरूमा करिब पाँच सय सफाइकर्मी बिहानदेखि साँझसम्म खटिएका थिए। महाशिवरात्रिको अवसरमा लाखौँ दर्शनार्थीको भीड लाग्ने भएकाले निजी क्षेत्रका सफाइकर्मीसँग सहकार्य गर्दै ‘सफा, पवित्र र हरित शिवरात्रि’ अभियान सञ्चालन गरिएको क्रिएसन नेपालकी महासचिव रोशना सुवेदीले बताइन्।
यस अवसरमा कोका–कोला फाउण्डेसनले महाशिवरात्रिमा सहभागी हुने दर्शनार्थी तथा भक्तजनका लागि २० हजार बोतल जिरो सुगर उत्पादन निःशुल्क वितरण गरेको जनाएको छ।
विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ क्षेत्रलाई केन्द्रमा राखी जिम्मेवार फोहोरमैला व्यवस्थापन र नागरिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित अभियान सञ्चालन गरिएको क्रिएसन नेपालले जनाएको छ। पशुपतिनाथ क्षेत्रलाई सफा, स्वच्छ र मर्यादित राख्दै दिगो सरसफाइ संस्कृतिको विकासमा योगदान पुर्याउने विश्वास निर्देशक कोइरालाले व्यक्त गरिन्।
क्रिएसन नेपालले ‘क्लाइमेट स्मार्ट सिटिज’ परियोजनामार्फत सहरी क्षेत्रमा दिगो व्यवस्थापन, फोहोर न्यूनीकरण तथा स्वच्छ वातावरण निर्माणमा थप योगदान पुग्ने अपेक्षा गरिएको जनाएको छ।