जेनजी आन्दोलनपछि क्षतिग्रस्त भाटभटेनी कोटेश्वर सुपरस्टोर शनिबारदेखि पुनः सञ्चालनमा
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते तोडफोड, लुटपाट र आगजनीबाट क्षतिग्रस्त भाटभटेनी सुपरस्टोरको कोटेश्वर शाखा शनिबारदेखि पुनः सञ्चालनमा आउने भएको छ। कम्पनीका अनुसार आगलागीबाट प्रभावित स्टोरहरूमध्ये पहिलो चरणमा कोटेश्वर सुपरस्टोर पुनर्निर्माण गरी सञ्चालनमा ल्याउन लागिएको हो।
आन्दोलनका क्रममा भाटभटेनीका १२ वटा सुपरस्टोर क्षतिग्रस्त बनेका थिए। कम्पनीले जारी गरेको विज्ञप्तिमा पुनः सञ्चालनले पुनर्निर्माणप्रति प्रतिबद्धता र समुदायप्रतिको उत्तरदायित्वलाई प्रतिविम्बित गर्ने उल्लेख छ।
भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडलले कर्मचारी, ग्राहक र सरोकारवालाको सहयोगका कारण कम्पनी छिटो पुनरुत्थानको बाटोमा अघि बढेको बताए। कोटेश्वर स्टोरसँगै बाँकी स्टोरहरू पनि चरणबद्ध रूपमा सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ।