कपिलवस्तुमा चलिरहेको बसमा अचानक आगलागी, ४४ यात्रु सकुशल
कपिलवस्तुमा बिहीबार बिहान गुडिरहेको यात्रुबाहक बसमा अचानक आगलागी भएको छ। हुलाकी सडक खण्ड अन्तर्गत तौलिहवा–भैरहवा सडकको शुद्धोदन गाउँपालिका–६ टिटिहिरियामा काठमाडौंबाट सुर्खेत जाँदै गरेको ना ७ ख ६०४८ नम्बरको बसमा आगलागी भएको हो।
प्रहरीका अनुसार बसको बायाँ चक्काबाट अचानक आगो सल्किएपछि चालकले बस सडकछेउमा रोकेर यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएका थिए। बसमा सवार ४४ जना यात्रु सकुशल रहेका छन्।
स्थानीय बासिन्दा, प्रहरी तथा कपिलवस्तु नगरपालिकाबाट गएको दमकलको सहयोगमा आगो निभाउने प्रयास गरिए पनि बस करिब आधा घण्टामै पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
घटनामा कुनै मानवीय क्षति नभएको र आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।