गृहमन्त्री अर्यालको आग्रह: ढुक्क भएर मतदानमा सहभागी हुनुस्
गृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आम मतदातालाई आग्रह गरेका छन्। आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ्गा पुगेका मन्त्री अर्यालले जिल्ला सुरक्षा समिति, राजनीतिक दलका प्रतिनिधि तथा प्रमुख मतदान अधिकृतसँगको छलफलमा शान्ति सुरक्षाको व्यवस्था सुदृढ बनाइएको भन्दै निर्भीक रूपमा मतदान गर्न आग्रह गरेका हुन्।
मन्त्री अर्यालले कानुन विपरीतका गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गर्दै निष्पक्ष निर्वाचनका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए। समाजका सबै वर्गले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्ने उनले बताए।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेहरूलाई कडाइका साथ कारबाही गर्नुपर्नेमा जोड दिए। ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रान्तिले जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी गराएका थिए भने मुख्य निर्वाचन अधिकृत हरिप्रसाद कोइरालाले राजनीतिक दलसँगको समन्वयमा निर्वाचन तयारी अघि बढिरहेको बताए।