नागढुङ्गामा कार खानतलासी गर्दा ‘मेड इन युएसए’ पेस्तोल र गोली बरामद
काठमाडौँको मुख्य प्रवेशद्वार नागढुङ्गाबाट प्रहरीले एक थान अत्याधुनिक पेस्तोल र चार राउण्ड गोलीसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गा चेकपोष्टमा खटिएको प्रहरी प्रभागको टोलीले शुक्रबार बिहान गरिएको नियमित जाँचका क्रममा कीर्तिपुर नगरपालिका–२ बस्ने ३० वर्षीय केयुर पुरीलाई पक्राउ गरेको हो।
चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा.१९ च ६९० नम्बरको कारलाई शङ्का लागेर खानतलासी गर्दा उक्त हतियार फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले पेस्तोल र गोलीसहित कारमा सवार पुरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।