कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने
नेपाली कांग्रेसले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा ले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङलाई फोन गरी कांग्रेसको तर्फबाट उक्त सहयोग उपलब्ध गराउने जनाएका छन्। उनले लेखेका छन्, “देशको प्रतिष्ठा बढाउन महत्त्वपूर्ण योगदान दिनुभएको प्रसिद्ध फुटबल खेलाडी साम्बालाई यसबेला हामी सबैले साथ दिन जरुरी छ। उहाँलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।”
सावित्राले सोमबार मात्रै आफ्नो उपचारका लागि अनुनय गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेकी थिइन्। उनकाे अपीलसँगै खेलकुद समुदाय र समर्थकहरूबाट सहयोगको पहल सुरु भएको छ।
तर, एन्फा र सरकारले अहिलेसम्म कुनै पहल नगरेको भन्दै सामाजिक सञ्जालमा आक्रोश फैलिएको छ। यसैबीच, काठमाडौं मेडिकल कलेज (KMC) ले साम्बालाई नेपालमा उपचार गर्न चाहिँ निःशुल्क सुविधा उपलब्ध गराउने घोषणा गरेको छ।
साथै, एन्फाका पूर्व अध्यक्ष तथा पूर्व कप्तान गणेश थापा ले पनि सामाजिक सञ्जालमार्फत ५० हजार रुपैयाँ सहयोग गर्ने जानकारी दिएका छन्।