आसन्न निर्वाचन तयारी पूरा: जिल्ला निर्वाचन कार्यालयद्वारा पारदर्शी मतदान सुनिश्चित
जिल्ला निर्वाचन कार्यालयले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई अझ पारदर्शी र विश्वसनीय बनाउन मतदान केन्द्रमा सिसी क्यामरा जडानको प्रक्रिया तीव्र बनाएको छ। हालसम्म उत्तरगया गाउँपालिकाका सबै मतदान केन्द्रमा जडान कार्य सम्पन्न भइसकेको छ भने बाँकी चार गाउँपालिकामा छिट्टै पूरा गरिने जानकारी दिइएको छ। यसरी जडान हुने क्यामरा ३६ मतदानस्थलमा रहने जनाइएको छ।
पत्रकार अन्तर्क्रियामा जिल्ला निर्वाचन अधिकारी राजन रायले बताए अनुसार अस्थायी मतदाता नामावली तयार भइसकेको छ र ३८३ कर्मचारी व्यवस्थापन गरी उनीहरूलाई आवश्यक तालिमसमेत प्रदान गरिएको छ। साथै, मतपेटिकासहित ५१ प्रकारका मतदान सामग्री तयारी अवस्थामा छन्।
मतदाता शिक्षा प्रभावकारी बनाउन जिल्लाका २७ वडामा एक–एक जना स्वयंसेवक परिचालन गरिएको छ भने पाँचै गाउँपालिकामा एक–एक जना अनुगमनकर्ता खटाइ दैनिक प्रगति संकलन भइरहेको छ। निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै पूर्वतयारी पूरा भइसकेको कार्यालयले जनाएको छ।
निर्वाचन खर्च पारदर्शी बनाउन सबै उम्मेदवारका नाममा बैंक खाता खोलिएको छ। जिल्लामा हाल ४१ हजार ४७१ मतदाता रहेका छन् र निर्वाचनमा नौ राजनीतिक दलका साथै तीन स्वतन्त्र उम्मेदवारसहित १२ जनाले चुनावी मैदानमा प्रतिस्पर्धा गर्नेछन्, निर्वाचन कार्यालयका नायब सुब्बा महेश आचार्यले जानकारी दिएका छन्।