रुपन्देही–३ मा जसपाका उम्मेदवार यादवले उम्मेदवारी फिर्ता लिए, एमालेमा प्रवेश
४ फागुन, बुटवल — रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार श्रीनिवास यादवले आफ्नो उम्मेदवारी फिर्ता लिँदै नेकपा (एमाले) मा समाहित भएका छन्।
सोमबार जारी प्रेस विज्ञप्तिमार्फत यादवले पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै एमाले प्रवेशको घोषणा गरेका हुन्। उनी जसपा नेपालका केन्द्रीय सदस्यसमेत रहेका थिए।
वर्तमान विषम राष्ट्रिय परिस्थितिमा मुलुकको राजनीतिक स्थायित्व र निकासका लागि एमाले प्रमुख राजनीतिक शक्ति हुने विश्वाससहित आफूले एमाले रोजेको यादवले उल्लेख गरेका छन्। उम्मेदवारी दर्ता गरी मतदाताको घरदैलोमा पुगिसकेको अवस्थामा पनि राष्ट्रिय हितलाई प्राथमिकता दिँदै यस्तो निर्णय लिएको उनको भनाइ छ।
‘आजका मितिदेखि जनता समाजवादी पार्टी (जसपा) नेपालको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै मेरो उम्मेदवारीसमेत फिर्ता लिँदै नेकपा (एमाले) मा समाहित भएको घोषणा गर्दछु,’ विज्ञप्तिमा भनिएको छ।
यादवले आफूलाई विश्वास गर्ने सम्पूर्ण मतदातालाई एमालेको चुनाव चिन्हमा मतदान गर्न आह्वान गरेका छन्। रुपन्देही–३ मा एमालेबाट बासुदेव घिमिरे उम्मेदवार रहेका छन्।
एमाले प्रवेश गरेका यादवलाई नेकपा (एमाले) रुपन्देहीका अध्यक्ष यज्ञ गैरेसहित नेताहरू भुमिश्वर ढकाल, गोमादेवी आचार्य, भरत पोख्रेल, राजेन्द्र पन्थी, प्रमोद यादव, हरिप्रसाद अधिकारी, उमा काफ्ले, अनुप बराललगायतले पार्टीमा स्वागत गरेका थिए।