निर्वाचन प्रचारमा रुफटफ सवारी प्रयोगमा सरकारको रोक
काठमाडौं, ७ फागुन — सरकारले निर्वाचन प्रचारका क्रममा उम्मेदवारहरूले छत खोलेर हिँड्न मिल्ने ‘रुफटफ’ सवारी साधन प्रयोग गर्न नपाउने निर्णय गरेको छ।
बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले उम्मेदवारहरूको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो। गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यका अनुसार प्रचार अभियानका बेला सम्भावित सुरक्षा जोखिम न्यूनीकरण गर्न रुफटफ सवारी साधनमा रोक लगाइएको हो।
बैठकमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका आईजी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा नेपाली सेनाका प्रतिनिधि सहभागी थिए।
त्यस्तै, बैठकमा आगामी निर्वाचनका गतिविधि, सुरक्षा व्यवस्थापन र तयारीका विषयमा समेत विस्तृत छलफल भएको जनाइएको छ। सरकारले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न सुरक्षा सतर्कता बढाइएको जनाएको छ।