धादिङ बस दुर्घटनाः २२ घाइते काठमाडौं ल्याइए, १८ जनाको मृत्यु
पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस धादिङमा दुर्घटनामा परेको छ। दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका थिए।
घाइतेमध्ये २२ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार, १२ जना राष्ट्रिय ट्रमा सेन्टर र १० जना नेशनल अस्पताल कलंकीमा उपचाररत छन्। उपचारका लागि ल्याइएका २३ जनामध्ये १ जनाको मृत्यु भएको छ।
नेशनल अस्पताल कलंकीमा ९ जना पुरुष र १ जना महिला उपचाररत छन्। ट्रमा सेन्टरमा ७ पुरुष र ५ महिलाको उपचार भइरहेको छ।
घाइतेमध्ये रहेका व्यक्तिहरूमा काठमाडौँ, कास्की, तनहुँ, स्याङ्जा, झापा र विदेशी नागरिकसमेत छन्। काठमाडौँ प्रहरीले सबैको स्वास्थ्य स्थितिको निगरानी राखिरहेको छ।