रुपन्देही–४ का मतदाताको मुख्य माग: सडक, रोजगारी, शिक्षा र स्वास्थ्य
रुपन्देही निर्वाचन क्षेत्र नं ४ का मतदाताले सडक पूर्वाधार, रोजगारी, शिक्षा, स्वास्थ्य र कृषि सुविधा सुधारलाई प्रमुख आवश्यकता बताएका छन्। मर्चवारी–३ सिसो सेमराका ओमप्रकाश कान्दुका अनुसार क्षेत्रको सबैभन्दा ठूलो समस्या सडकको दयनीय अवस्था हो। सडक कमजोर हुँदा एम्बुलेन्स र दमकलजस्ता आपत्कालीन सेवासमेत प्रभावित हुने गरेको उनले गुनासो गरे।
यहाँ बेरोजगारी, किसानले समयमै मलखाद नपाउने, सिँचाइ सुविधा अभाव, सुविधासम्पन्न अस्पताल नहुनु र विद्यालयमा भौतिक पूर्वाधारको कमी पनि प्रमुख समस्या रहेको स्थानीयवासीको भनाइ छ। उनीहरूले विकास गर्न सक्ने, जनताको समस्या बुझ्ने र जितेपछि क्षेत्रमै फर्केर काम गर्ने उम्मेदवारलाई मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
मर्चवारी–३ रायपुरका साधुसरण यादव, कोटहीमाई–७ का मख्खन लोध, मर्चवारी–१ का श्रीराम यादव, मायादेवी–४ का चन्द्रशेखर गुप्ता र सम्मरीमाई–६ का मोहम्मद असलम खाँलगायतले सडक, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राख्ने जनप्रतिनिधि आवश्यक रहेको बताए।
रुपन्देही–४ मा ६६ हजार ६२ पुरुष र ५० हजार ११० महिला गरी एक लाख १६ हजार १७२ मतदाता छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट सात जना स्वतन्त्रसहित २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
विसं २०७९ मा यस क्षेत्रबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सर्वेन्द्रनाथ शुक्ला निर्वाचित भएका थिए भने २०७४ मा नेपाली कांग्रेसका प्रमोदकुमार यादव र २०७० मा तराई–मधेस लोकतान्त्रिक पार्टीका शुक्ला नै निर्वाचित भएका थिए। २०६४ मा मधेसी जनअधिकार फोरमका ओमप्रकाश यादव विजयी भएका थिए।