फुटबलर साम्बाको उपचारका लागि सहयोग जुट्दै: मध्यनेपाल नगरपालिकाद्वारा १ लाख घोषणा
लमजुङ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कीर्तिमानी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि झन्डै १ करोड १५ लाख रुपैयाँ (८० हजार अमेरिकी डलर) खर्च लाग्ने अनुमान गरिएको छ। घुँडाको गम्भीर चोटका कारण मैदानबाहिर रहेकी साम्बाले आफ्नो उपचारका लागि यति ठूलो रकम आवश्यक पर्ने जानकारी दिँदै आर्थिक सहयोगको अपिल गरेकी हुन्।
सावित्राको यो कठिन घडीमा उनको गृहजिल्ला लमजुङको मध्यनेपाल नगरपालिकाले १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। नगर प्रमुख रमेशकुमार पाण्डेले साम्बा राष्ट्रको गहना भएको उल्लेख गर्दै नगरपालिकाका तर्फबाट सहयोगको सुरुवात गरिएको बताउनुभयो। साथै, मेयर पाण्डेले व्यक्तिगत रूपमा थप १० हजार रुपैयाँ प्रदान गर्दै अन्य स्थानीय तह र मनकारी व्यक्तिहरूलाई पनि सहयोगका लागि आह्वान गर्नुभएको छ।
साम्बाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको जानकारी अनुसार, उनको दाहिने घुँडाको एसीएल ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको छ। यसअघि पनि सोही घुँडाको शल्यक्रिया गराएकी उनले यसपटक थप जटिल शल्यक्रिया र करिब ७ देखि ८ महिनाको लामो पुनर्स्थापना प्रक्रियाबाट गुज्रनुपर्नेछ। कतारको अस्पेटर अस्पतालमा उच्च स्तरको उपचार गराउनका लागि झन्डै ८० हजार डलर खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसपटक प्रशासनिक र पर्याप्त आर्थिक सहयोग नगरेको भन्दै साम्बाले दुःख व्यक्त गरेकी छिन्। एन्फाले ५ लाख रुपैयाँसम्म मात्र सहयोग गर्न सक्ने बताएपछि साम्बाले देश–विदेशमा रहेका नेपाली र खेलप्रेमीहरूसँग गुहार मागेकी हुन्। "यो मेरो करियरकै सबैभन्दा कठिन लडाइँ हो, तर म हार्न तयार छैन," उनले भावुक हुँदै लेखेकी छिन्।
अस्ट्रेलियाको ए-लिगमा वेलिङ्टन फोनिक्सबाट खेल्ने क्रममा डेढ महिनाअघि उनी घाइते भएकी थिइन्। साम्बाको उपचारका लागि हाल विभिन्न ठाउँबाट स्वतःस्फूर्त रूपमा सहयोग संकलन अभियान सुरु भएको छ। उनलाई पुनः मैदानमा फर्काउनका लागि स्थानीय सरकार, राजनीतिक दल र समर्थकहरूले ऐक्यबद्धता