एक करोड ५० लाख समानुपातिक मतपत्र छापियो, प्रत्यक्षतर्फको छपाइ सुरु हुँदै
१० माघ, काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख थान मतपत्र छपाइ सम्पन्न भएको जनाएको छ ।
आयोगका अनुसार मतपत्र छपाइ यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा सुरु गरिएको हो । अब ५० लाख थान मतपत्र छाप्न बाँकी रहेको छ । समानुपातिकतर्फको छपाइ सम्पन्न भएपछि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरिने आयोगले जनाएको छ ।
प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम नामावली टुंगो लागिसकेको छ । मनोनयन दर्ताका लागि एकप्रति मतदाता नामावली छपाइ गरी सबै जिल्लामा वितरण गरिएको आयोगले जनाएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले तीन हजार ४०६ जना उम्मेदवारको नामावली सार्वजनिक गरिसकेको छ । जसअनुसार तीन हजार १७ जना पुरुष, ३८८ जना महिला र एक जना अन्य समूहबाट उम्मेदवार रहेका छन् । आयोगले शुक्रबार नै निर्वाचन चिह्नसमेत प्रदान गरेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारी दर्तादेखि फिर्ता लिनेसम्मको निर्वाचन कार्यक्रम शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका उम्मेदवारको नामावली पनि प्रकाशित भइसकेको आयोगले जनाएको छ ।