सल्यान-रुकुममा निर्वाचन बहिष्कार अभियान सशक्त हुने: ३ नम्बर कमाण्डद्वारा आज उद्घाटन
सल्यान, ६ माघ
क्रान्तिकारी कम्युनिष्ट पार्टीले साम्राज्यवादद्वारा प्रायोजित निर्वाचनको विकल्पमा ‘स्वाधीन संयुक्त सरकार गठनको मागसहित सल्यान र रुकुममा निर्वाचन बहिष्कार अभियानलाई तीव्र पार्ने भएको छ। पार्टीको ४ नम्बर क्षेत्रीय ब्युरो अन्तर्गत ३ नम्बर कमाण्डमा पर्ने यी दुई जिल्लामा केन्द्रीय कार्यक्रमको आज औपचारिक उद्घाटन गर्दै भोलिदेखि अभियानलाई थप सशक्त र योजनाबद्ध ढङ्गले अगाडि बढाउने निर्णय गरिएको छ।
सल्यान जिल्लामा निर्वाचन बहिष्कार अभियान अन्तर्गत ब्युरोका अभियान यात्री कमरेडहरूको उपस्थितिमा अभियान उद्धघाटनको क्रममा आगामी चरणबद्ध कार्यक्रमलाई व्यवस्थित बनाउने गरी औपचारिक निर्णय गरेको हो। शारदा नगरपालिका-१, श्रीनगरमा सम्पन्न ब्युरोका कमरेडहरूले जिल्ला तहका नेताहरूलाई प्रशिक्षण गर्दै, भोलिदेखि फिल्डमा उत्रिएर जनतालाई अभियानमा गोलबन्द गर्ने कार्ययोजना पारित गरेको छ। छलफलले जिल्लाका विभिन्न तह र तप्काका कार्यकर्तालाई परिचालन गरी अभियानलाई जनस्तरसम्म पुर्याउने लक्ष्य लिएको केन्द्रीय सदस्य तथा अभियानका कमाण्डर मोतिराम खड्काले बताउनुभयो।
पार्टीले तय गरेको कार्यतालिका अनुसार सल्यान र रुकुमका विभिन्न स्थानमा निर्वाचन बहिष्कारका कार्यक्रम, कोणसभा तथा सघन जनसम्पर्क अभियान सञ्चालन गरिनेछ। ४ नम्बर क्षेत्रीय ब्युरो अन्तर्गतको कमाण्डले भोलिदेखि सुरु हुने यो अभियानलाई दुवै जिल्लाका मुख्य केन्द्रदेखि गाउँगाउँसम्म विस्तार गर्ने गरी तयारी पूरा गरेको जनाएको छ। अभियान यात्री कमरेडहरूको छलफलमा सहभागी प्रतिनिधिहरूले अभियानलाई प्रभावकारी बनाउन आवश्यक प्रशिक्षण समेत प्रदान गरेका छन्।
यसअघि नै पार्टीले सल्यानको मुख्य व्यापारिक केन्द्र श्रीनगरमा राँके जुलुस प्रदर्शन गरी निर्वाचनप्रति आफ्नो कडा विरोध जनाइसकेको छ। देशभर उम्मेदवारी मनोनयनको प्रक्रिया चलिरहेका बेला जिल्ला सेक्रेटरी उज्जवलको नेतृत्वमा निकालिएको सो जुलुसले राजनीतिक वृत्तमा तरङ्ग पैदा गरेको थियो। उक्त कार्यक्रमको सफलताले कार्यकर्तामा थप उत्साह भरेको र भोलिदेखिको अभियानलाई थप ऊर्जा प्रदान गर्ने अभियानका सह-कमाण्डर उज्जवले जानकारी दिनुभयो ।
क्रान्तिकारी कम्युनिष्ट पार्टीले विद्यमान निर्वाचन प्रणालीलाई साम्राज्यवादी स्वार्थको उपज भन्दै यसको विकल्पमा स्वाधीन तथा स्वायत्त संयुक्त सरकारको अपरिहार्यतामा जोड दिएको छ। सल्यान र रुकुममा सञ्चालन हुने यस विशेष अभियानले जनतालाई राजनीतिक रूपमा सचेत पार्दै वैकल्पिक व्यवस्थाको मार्ग प्रशस्त गर्ने विश्वास लिइएको छ। क्षेत्रीय संरचना र फिल्डमा खटिने टोलीबीचको सुदृढ समन्वयका कारण यो अभियान प्रभावकारी हुने केन्द्रीय सदस्य तथा अभियानका कमाण्डर मोतिराम खड्काले स्पष्ट पार्नुभयो।
