प्रगतिशील समाजवादी पार्टी नेकपा एमालेमा समाहित
काठमाडौं
प्रगतिशील समाजवादी पार्टी (प्रसपा) नेकपा एमालेमा समाहित भएको छ। तुलसीराज गिरी नेतृत्वको प्रसपा बिहीबार औपचारिक रूपमा नेकपा एमालेमा समाहित भएको हो।
देशमा पछिल्लो समय राजनीतिक अन्योल र संकट देखिएको तथा राष्ट्रियता र लोकतन्त्रमाथि धावा बोलिएको अवस्थालाई मध्यनजर गर्दै प्रगतिशील राष्ट्रिय बाम लोकतान्त्रिक शक्तिहरू एकीकृत हुनु आवश्यक रहेको निष्कर्षसहित समाहित हुने निर्णय गरिएको सहमतिपत्रमा उल्लेख छ।
प्रसपाका अध्यक्ष तुलसीराज गिरी र नेकपा एमालेका प्रतिनिधि लिलानाथ श्रेष्ठद्वारा हस्ताक्षरित सहमतिपत्रमा टुक्रिएर अलग–अलग बस्नुभन्दा एकताबद्ध भएर बलियो राष्ट्रिय शक्ति निर्माण गर्नु अपरिहार्य रहेको उल्लेख गरिएको छ।
सहमतिपत्रमार्फत देशमा रहेका विभिन्न शक्ति तथा समूहहरूलाई पनि नेकपा एमालेमा गोलबन्द हुन आह्वान गरिएको छ। साथै, नेकपा एमालेको नीति र नेतृत्वप्रति प्रतिबद्ध रहँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न लोकतान्त्रिक आन्दोलनको मूल प्रवाहका रूपमा रहेको नेकपा एमालेमा प्रगतिशील समाजवादी पार्टी समाहित गरिएको जनाइएको छ।