ओलीले एमाले केन्द्रीय बैठकमा विश्व राजनीतिमा स्थिर नीति र स्वतन्त्र परराष्ट्र नीति जोड
काठमाडौँ, २६ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार सम्पन्न पार्टी केन्द्रीय कमिटी बैठकमा विश्व राजनीतिका पछिल्ला घटनाक्रमबारे एमालेको दृष्टिकोण प्रस्तुत गर्दै असुरक्षा, हस्तक्षेप र अत्याचारविरुद्ध स्थिर नीति अपनाउनुपर्ने बताए।
ओलीले विश्व राजनीति अस्थिर, जोखिमपूर्ण र पूर्वानुमान गर्न कठिन बन्दै गएको उल्लेख गर्दै बहुपक्षीय प्रणाली कमजोर, शक्ति राष्ट्रबीच अस्वस्थ प्रतिस्पर्धा बढेको बताए। सार्वभौम राष्ट्रमाथि हत्या धम्की, अपहरण, आतंकवादी आक्रमण, निर्दोष नागरिकको नरसंहार, कृत्रिम बौद्धिकता र सूचना प्रविधिको सामरिक प्रयोग तथा जलवायु संकटले मानव अस्तित्वमा चुनौती थपेको उनले चिन्ता व्यक्त गरे।
एमालेको नीति स्वतन्त्र परराष्ट्र नीति, सन्तुलित सम्बन्ध, सार्वभौमसत्ता संरक्षण, अहस्तक्षेप र सहअस्तित्वमा आधारित रहेको ओलीले दोहोर्याए। उनले अतिवाद, कट्टरपन्थ, संरक्षणवाद र पथभ्रष्ट राजनीतिको पार्टीले निरन्तर विरोध गर्दै आएको उल्लेख गर्दै, “सबैसँग मित्रता, कसैसँग शत्रुता छैन” भन्ने नेपालको परराष्ट्र नीतिको मूल मान्यता भएको बताए।
ओलीले अन्तर्राष्ट्रिय विवादहरू संवाद र कूटनीतिक पहलमार्फत शान्तिपूर्ण रूपमा समाधान हुनुपर्नेमा जोड दिँदै हालै भेनेजुएलामा अमेरिकी हस्तक्षेप, राष्ट्रपतिलाई नियन्त्रणमा लिनु र मुद्दा चलाउनु अन्तर्राष्ट्रिय कानुन र पञ्चशील सिद्धान्तविपरीत भएको भन्दै पार्टीको विरोध जनाए।
यस्तै युक्रेनको भौगोलिक अखण्डता, ग्रिनल्याण्ड नियन्त्रण प्रयास र गाजा–वेस्ट ब्याङ्कमा प्यालेस्टिनी जनतामाथि भइरहेको ज्यादतीप्रति आपत्ति जनाउँदै अल्पसंख्यक समुदायमाथि आक्रमण रोक्न र म्यान्मारमा लोकतन्त्र शीघ्र बहाल गर्नुपर्ने माग पनि बैठकमा उठाए।